कविता
"म्याराथन जिन्दगी"
जिन्दगी म्याराथनमा
दौँडदा दौँडदैँ
तिमी थाकेर
थकाइ मार्न थचक्क बस्दा
म
एक आम्खोरा पानी लिएर
तिम्रो अगाडि उभिनेछु
हातमा
कागजको पङ्खा लिएर
हम्किनेछु म
तिम्रा आँतलाई शितल पार्न
भलै
तिमीले मलाई
जिउँदै जलाएका थियौ
अतितको कुनै क्षणमा
तिम्रा
बाघ समाउनसक्ने वलिष्ठ जिऊ
गलेर फतक्क हुँदा
तिम्रा दरिला खुट्टाले
तिमीलाई नै सहारा नदिँदा
कसरी दौडिन सक्छौ तिमी
त्यसबेला
जिन्दगीको म्याराथन
लौरो टेकेर??
कास:
यो कुरा तिमीले पहिल्यै बुझ्थ्यौ भने?
तिमी धावक
दौडिरह्यौ जिन्दगीको दौड
अथक
अपराजित दौड
तर भुल्यौ
तिमीभन्दा ठूलो धावक
यो समय हो
जो आफू स्वयम् दौडन्छ
जसले तिमीलाई दौडाउँछ
मलाई दौँडाउँछ
हामी सबैलाई दौडाउँछ
प्रिय प्रियतम
यही समय आयोजक बनेर
जिन्दगीको कालान्तरमा
फेरी
तिमीलाई दौडाउनेछ एउटा दौड
तिमी दौडिनेछौ
जहाँ म।भेटिनेछु पुन:
तिम्रो सहायता हेतु
एलिसा पौडेल
नुवाकोट
हाल: काठमाडौं
No comments:
Post a Comment