Wednesday, 15 June 2016

कथा तम्सुक


शारदा पौडेल

            यसपाली घर गएको न गई भयो  , गएँ  तर के गरेँ के गरिन थाहै भएन । हेर कान्छा   जे गरेँ मैले  गरेँ तैले यस्तो कहिल्यै नगरेस  है भनेर मेरो दाइले भन्दैहुनुहुन्थ्यो ।

          किन  के भयो र ? हो यसपाला बिदामा आउँदा हजुर त्यति खुशी पनि त हुनुहुँदैनथ्यो नि ?  कस्तो  आत्मग्लानी भए झै गर्नु भएको थियो ।बेला बेलामा  झस्याङग झस्याङग  हुनुहुन्थ्यो किन हो दाइ ----- मैले सोधेँ  ।

              के भन्नू के नभन्नु कान्छा , भनौँ भने यो दुनियाँ  संसारले मलाई नै पागल बनाउनेछ  नभनौँ भने खालि त्यही मात्रै  याद आउँछ , रुन मन लाग्छ । यदि केही भयो भने मेरा बचराहरुको हालत के होला भन्त ? केही गर्न सक्छु कि भनेर घरै छोडेर हिँडेको अर्थ के हुन्छ र ,  हैन त ?  रातदिन रोएर , पसिना बगाएर  दुःख गरेको छु  । ल भन् त मेरो दुःखको  के नतिजा निस्केला  ?  मान्छे  थरि थरिका छन् कान्छा यस संसारमा , सबै सोचे जस्ता र विश्वास गरे जस्ता नहुन सक्छन्  त्यसैले म यति बेला भारी  पीरमा छु । कस्लाई भनुँ मैले यो सब कुरा ? भनौँ तँलाई  तैँले पनि  पागल बनाउँछस् मलाई ।

            कहिल्यै  यसरी न आत्तिने दाइ किन यसरी आत्तिनु  भएको होला भनेर धेरै बेर सोचेँ तर कतै कुनै कारण पनि  देखिन  मैले । जे होस् वहाँलाई भित्रि चोट परेको छ अनुमान लगाएँ  र बुझ्न चाहँदा पनि अाफ्नै मात्रै  व्यथा भन्नुहुन्छ तर भित्री आशय के हो त आत्तिनु पर्ने ? किन लुकाउनु भएको छ ? मैले भनेँदेखि तैंले पनि पागल भन्छस् , भन्नुको अाशय के हो ?  किन  त्यो आशय भन्न चाहनुहुन्न किन ? मैले मसँगै  धेरै प्रश्न गरेँ । दाइ आफ्नै सोचाइमा  हुनुहुन्थ्यो  भने म कारण के होला ? भनेर  मन मनै खोतलिरहेको थिएँ  । एकछिन सुनसान भयो दुवै आ- अाफ्ना तर्कनामा डुब्न थालेछौँ ।

             निकैबेर पछि दाइले भन्नू भयो भोलि  राजधानीतिर झर्नुछ कान्छा मसँगै  जान्छस् र ? छ तेरो फुर्सद  भने हिड्न त मसँगै  , जान्छस् ? एक्लै हिड्दा केही  भैहाल्यो भनेपनि दुईचार वाक्य भन्न पाउँदिन कि झै लाग्छ । यदि भन्न नपाईकन मलाई केही भयो भने मेरा बचराले मलाई कति सराप्लान् भन्त ? हाम्रो  बाउ कमाउन गएको अाखिर हाम्लाई डुबाएर छाड्यो भन्दैनन् त ? तँ के भन्छस् यो कुरामा ? तँ भएपनि भन्ने त त्यही  नै हो नि होइन  त ?

       हुन्छ नि त  दाइ , म समय निकाल्छु र जाउँला । घर गएर सबै व्यवस्था  मिलाउँछु  र भोलि बिहान भेटौँला नि त है । बरु कति बजे जाने हो भन्नू त दाइ  ?

        अाइज न खाना खाएर दस बजेतिर गयौँ भने त चाँडै नै काम सकेर फर्कौँला नि है । खास धेरै बेर भुल्ने काम त छैन फेरि जानू पनि पर्ने नै छ ।

          हुन्छ हुन्छ  म दस बजे भेटौँला नि त दाइ भनेर म त्यहाँबाट हिँडेँ । तर बाटाभरि दाईले के गर्नुभएछ त त्यस्तो  निकै  पीर मान्नुभएको छ भन्ने सोचेँ । जस्तोसुकै दु: ख कष्टमा पनि  हरेस नखाने दाइको एकाएक व्यवहारमा किन अायो परिवर्तन  ?  के हो यो परिवर्तनको कारक ?  फेरि झस्कने र खालि बच्चाले के भन्लान् र उनीहरुलाई डुबाएँ भन्ने किन ?  के भयो  कि कतै......
होइन  होइन  यस्तो हुनै सक्दैन । धत! सोच्दा सोच्दै  मैले के सोच्न पुगेँ । थुक्क म , षो मन पनि कति पापी हो  । जे होस् दाईलाई ठूलो चिन्ता छ र त्यस्ले मनमनै ठूलो चोट पुर्याएको छ  । जस्ले मनलाई  सन्तोष दिएको नै छैन ।  भोलि भाउजुलाई सोध्नपर्छ कि क्या हो के भएको दाइलाई भनेर ? 
हुन्न हुन्न झन् भाउजुलाई पीर पर्ला  , सोध्दिन ।
भोलि राजधानी जाँदा बाटोमा सोध्छु - भन्नुहुन्छ कि ।  हेरौँ के गर्नुहुन्छ ?  जे होस् दाइ तनावग्रस्त हुनुहुन्छ  । म दाइ कै बारेमा सोच्दै घर आइपुगेँ । बुढीलाई थाहा  थियो कि !  सोधौँ , सोधौँ लाग्यो तर यसलाई के थाहा भनेर सोधिन । खाना खाएँ र सुतेँ ।

         भोलिपल्ट बिहानै उठेँ । घरायसी काममा सघाएँ । दस बजेतिर खाना खाएर राजधानीतिर जाने काम छ है भनेर घरबाट हिँडे । दाईको घर जाँदा दाइ ठिक  परेर बस्नु भएको रहेछ । म जाने बित्तिकै  त्यहाँबाट हिडौँ ।
       
          राजधानीबाट नजिकैको  गाउँ  भएपनि  यातायातको सुबिधा  राम्रो  नभएकोले धेरै नै बेर कुरेर बस्यौँ हामी । करिब अाधा घण्टापछि बस त आयो तर भरिएको थियो । बस रोक्नका लागि  हात उठायौँ ,रोक्यो  तर धेरै भिड हुनाले  बल्लतल्ल चढ्यौँ । बस्ने ठाउँ  छँदै थिएन त्यसैले बसभित्र राखिएका डण्डी समाएर  धानिन  बाध्य भयौँ । बाटो अप्ठ्यारो  थियो । घरिघरि  बस् लड्यो क्यारे भने झैँ गरेर कोल्टिन्थ्यो  त्यतिबेला  दाइको अनुहार हेर्न लायक नै हुँदैनथ्यो,  अती नै आत्तिनु हुन्थ्यो  । नआत्तिनु न दाइ केही हुँदैन भन्थेँ तर भयो भने त बर्बाद  हुन्छ नि कान्छा  भनेर न्याउरो  अनुहार लगाउनुहुन्थ्यो  ।

         बल्लतल्ल  राजधानी पुगियो । मेरो त खासै काम थिएन । दाइको काम पनि धेरै नभएकोले छिट्टै  फर्किने भयौँ । अब जाँदा त बसको सिटमा बसेर जाने हो कान्छा भनेर टिकट काउन्टरमा गएर टिकट काट्नु भयो । टिकट लियौँ र  बस भएको ठाउँमा  अायौँ । सिट जेहोस नदीको किनारतिर परेछ खुशी लाग्यो । किन कि म एक्लै यात्रा गर्दा नदितिर नै सिट पारेर त्यही पानीको बहाबसँगै रमाउन चाहन्थेँ ।

             मैले पनि  दाइलाई  झ्यालतिरको सिट मनपर्ला भन्ठानेँ र बस्न भनेँ । दाइ छेउतिरै बस्नुभयो । केहीबेर पछि बस हिड्यो । एकातिर हरियाली जङ्गल  र  अर्कोतिर नदी बगेको  दृस्य देख्न पाइन्थ्यो  बसबाट ।  ठाउँ  ठाउँमा  ठूला ठूला घुम्ती  हुनाले बस नराम्रोसँग कोल्टिन्थ्यो ।  यस्तो बेलामा दाइको अनुहार सोरिएर अाउँथ्यो । एकपटक त नदीतिरै नराम्रोसँग कोल्टियो ।  दाइले चिच्याउँदै भन्नू भयो --- कान्छा के जाने नै हौँ त हामी ?  यदी गयौँ भने मेरा बचराले ......
          
              अब मैले कारण के हो ? नसोधीकन भएन सोचेँ  र भने दाइ हजुरलाई केही हुँदैन । किन यसरी डराउँनु भएको छ भन्नुहोस् त ? अाखिर् के कुरा हो त्यो ? जस्ले हजुरलाई भित्रभित्रै यसरी खाइरहेको छ    ----भन्नुहोस्  दाइ  । मैले हात जोडेर बिन्ती  गरेँ ।
 

           तँलाई  नभनेर कसलाई भन्छु त नि कान्छा । तैँसित भन्छु भनेर त तँलाई यहाँसम्म ल्याएको छु । घर भाउजुलाई भनुँ मार्छे  । बचराहरुलाई भनुँ सम्भव नै छैन । विचरा ! तिनीहरुलाई त्यो भनेको के थाहा ?  ल भन्न त मैले अरु कस्लाई भन्ने ?  भाइ भनेपनि साथी भनेपनि तैँ त होस् नि मेरो , अरु को छ र ? भन्त ।  
          कान्छा अहिले त  के भएको  छ र , म बिदामा अाउँदा ठूलो जहाज चढेर अाएँ , तँलाई थाहै छ । त्यो जहाज बादलभित्र हराउँदा पनि मेरो हंसले ठाउँ  नै छाड्थ्यो । समुन्द्रमाथि उडेपनि  ए भगवान यहाँ खस्यो भने के हुन्छ भन्ने हुन्थ्यो ?  जब जहाज नेपाल प्रवेश गर्यो भन्ने थाहा पाएसी केही ढुक्क त भएको  थियो । तर जहाज ओर्लने बेलामा घुम्दा पहाड र हिमाली खोचमा ठोकिएर केही हुने हो कि भनेर ठूलो चिन्ता पर्थ्यो  कान्छा । जहाजबाट अोर्लने बित्तिकै भाउजुलाई र तँलाई सबै कुरा भन्छु । यदि म केही भएँ भने  मेरा बचरालाई  त्यो मारबाट बचून् सोचेँ ।  तर अझै भन्न सकिराखेको छैन ।

               यदि  मैले  तँसँग भनेदेखि के भन्ठान्छस् तैँले भन्त ?  दाइ तँ पागल होस् । किन सबै मान्छेलाई आफू जस्तै ठान्छस्  ? मान्छे  सियो बनेर पस्छ र हात्ती बनेर निस्कन्छ भन्ने कुरा किन  बुझ्दैनस् ? मान्छे  जब कंगाल हुन्छ तब चण्डाल हुन्छ किन जान्दैनस् ?  जोसुकैका छोराछोरीको विहे गर्न होस् वा अरुकाममा होस्  , तँ नै अघि बढेर किन दया देखाउँछस् ? किन भन्त दाइ किन -- भनेर गाली गर्छस् हो  , होइन  त ??

           गाँठी कुरा के हो त नि  दाइ --- मैले सोधेँ । हजुरले यी सब कुरा भन्नुहुन्छ तर वास्तविक गाँठी  कुरा नै किन भन्न चाहनुहुन्न ? खै अहिलेसम्म भन्नुभएको छ त ? त्यो कुरा के हो ? भन्नू न -- अनि मात्रै  यसो गरौँला दाइ भन्छु नि म । हजुरले भन्नु भएको  छ त ? खै कुरा के हो त्यो हजुर भित्रभित्रै  जल्नु पर्ने के हो ? भन्नू न दाइ बिन्ती  छ  । अब त मलाई नै पीर पर्न थाल्यो । दिनमा त यसरी डराउने  हजुर रातमा कति डराउनुहुन्छ होला , कल्पनासमेत गर्न सक्दिन म । भन्नुहोस् दाइ बिन्ती  (हात जोडेर  पाउ पर्दै ) --- भन्छु मैले ।

        कान्छा मान्छेले धन सम्पत्ति  भनेपछि  आफ्नो मानवता किन बिर्सन्छ भन्त ?  मैले कसैको सम्पत्ति  ठगेँ भने के मलाई जिन्दगी भर पुग्छ त ? मैले त्यो ठगेको सम्पत्तिले छोराको जीवन र छोरीको सिउँदो रंग्याएँ भने पनि मेरो मन रंगिन्छ त ? ती रंगाएका चिजले मलाई हेरेर जिन्दगी भर गिज्याउँदैनन् त ?  जब तिनीहरु मेरो सामु अाउँछन्  खिसिक्क हाँसेर बा --- नमस्कार भनेर शिर झुकाउँदा  म बाँचेको सार होला त ? भन्त तँ त्यस्तो  गर्न सक्छस्  -- तैंले ?

          अझै कुरो खुलेको थिएन , घरिघरि ठगसित  पैसाको   कारोबार गर्नुभएछ  कि जस्तो  मात्रै  लाग्थ्यो तर कुरो यही हो भन्ने बुझ्नसकिरहेको अवस्था थिएन । त्यसैले कुरा जान्न चाहेँ र सोधेँ ----- हजुरले उता पैसाको कारोबार गर्नुभएको छ ? कि के हो ? भन्नू त ---- मैलेँ भनेँ  ।

       दाइ धेरैबेर मौन रहनु भयो  , केही भन्न खोज्नुहुन्थ्यो तर सक्नुभएको थिएन  । त्यसैले भनेँ दाइ , हामी दुईवटा  दाजुभाइ हौँ । हाम्रो पैतृक सम्पत्ति जे जति थियो भाग लगाइयो । आ- आफ्नो भाग लियौँ  । त्यही भागमा हामी सन्तुष्ट छौँ । आफुले सकेको गरेका छौँ रमाएका छौँ तर मैले हजुरलाई ठगेर अलिकति बढी खाएको भए  के मलाई सन्तोष  मिल्थ्यो र ?? पक्कै मिल्दैनथ्यो दाइ । नत हजुरलाई नत मलाई  मर्ने बेलासम्म पछुतो शिवाय केही हुँदैनथ्यो । हो कि होइन  भन्नू त ---- मैले भनेँ ।

               हो , यही कुरो किन बुझ्दैन मान्छेले कान्छा , किन ??  हेर अब त म जाने बित्तिकै   च्यात्न लगाउँछु । विश्वास गरेर  काम गर्दा आफ्नो  पुरानो प्रवृत्ति देखाउन खोज्छ भने त्यस्तालाई के गर्न सकिन्छ र भन्त ? जेहोस् अब म जाने बित्तिकै साहुलाई भनेर मेरो नाम हटाउन लगाउँछु । जस्ले गर्दा मेरा बचरालाई केही नहोस , होइन  त कान्छा ?
     नत मैले सबै लिएको , मेरो समस्या  बुझ्दे दाइ , कस्तो  पीडामा छु भनेर हात जोडेर रोयो , साक्षी बसेँ । तर अब त जाने बित्तिकै भन्छु र हटाउन लाउँछु । या सबैलाई यथार्थ भन्छु --- हुन्न त कान्छा ?

         हुन्छ हुन्छ
बरु  केमा हो  दाइ नाम हटाउने ? भन्नू त केमा ?

         दाइले बिस्तारै  भन्नुभयो ---अर्काको नामको तम्सुकमा ......
किन  दाइ अर्काको नाममा तम्सुक गर्नु भएको ?  तम्सुक भन्ने कुरा अर्काको नाममा गर्दा के हुन्छ किन सोच्नु भएन हजुरले ?  सम्पत्तिको  लागि मान्छे कतिसम्म गिरेका छन् हजुरले थाहा पाउनु भएको छैन ?  अाफ्नै भाइ भाइको  मारामार हुन्छ सम्पत्तिको लागि भने हजुरले अर्कालाइ पैसा चाहियो भनेर  आफ्नो नाममा तम्सुक बनाउने ?  अब जानुहोस् र खुरुक्क आफ्नो  नाम हटाउन लगाउनुहोस् ।
        एउटा कुरा बुझ्नुहोस् दाइ देश होस् वा विदेश , जहाँ भएपनि अाफ्नो परिश्रमको जतन गर्न जान्नुहोस् । कुनैले समस्या  देखाउँदैमा  विश्वास गरेर ल्याप्चे लगाउने काम किमार्थ  नगर्नुहोस् , चाहे म नै हुँ चाहे अर्को बुझ्नुभयो ।

     बुझेँ कान्छा अब यस्तो  काम किमार्थ  गर्ने छैन । देखिनस् अहिलेको मेरो छुट्टीको समय कसरी बिताएँ.......

सारदा पौडेल

No comments:

Post a Comment